काठमाण्डौं / जिल्लाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा निधन भएको छ । विर्तामोड–८ देउनियाँ स्थित आफ्नै घरमा आइतबार बिहान ५ बजे उहाँको निधन भएको हो । मैनाली युरिक एसिड, सुगर र पेटसम्बन्धी बिरामी हुनुहुन्थ्यो ।
प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो ।
उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टी माझ प्रिय हुनुहुन्थ्यो ।





















