काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कूटनीतिक मर्यादा विपरीत भएको भेट प्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मूल्य र आचारसँहिता विपरीतको यस्तो भेट किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
‘भारतको गुप्तचर सँस्था ‘रअ’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग ‘वार्ता’ गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यस बारेमा कुनै पूर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो , देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षी झैँ औपचारिक वार्ता गरेको ।’
यस्तो छ श्रेष्ठको स्टाटस
केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यस बिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यस बारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।
मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्य सुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।
नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।
बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।
त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचार सँहिता बिपरीतको यस्तो भेट किन?
यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।





















