काठमाडौं / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दशैँमा पनि पिसिआर परीक्षण गर्ने भएको छ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैँ बिदामा पनि पिसिआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ। दशैँ बिदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपिडी सेवा बन्द हुने भए पनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार इमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ।
कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैँको अवधिमा पनि पिसिआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए। ‘दशैँमा पनि पिसिआर परीक्षण रोकिँदैन। हामीले दशैँ बिदामा पनि पिसिआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं,’ उनले भने।
दुईवटा अत्याधुनिक अमेरिकन पिसिआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोवेलले पिसिआर परीक्षण गर्दै आएको छ। नोवेलले अस्पतालमा आउनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ।





















