काठमाण्डौं / विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठा सहित राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन् ।
मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन्।
कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गरिनु पर्ने उनको भनाइ थियो । गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।

.उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचना सहित बीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।
आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि उनले जानकारी दिए। काठमाडौँ उपत्यकामा रहेका सात वटै विश्व सम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माणमा पनि तीव्रता दिइएको बताए ।
बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत मन्त्रिगणले मन्दिर परिक्रमा गरेका थिए ।
कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो । तीन सय ५२ वर्ष अघि पोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ ।






















