काठमाडौं / संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजूरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा.युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी विरुद्ध एक उजूरी परेका छन् ।
सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।
समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।
उजूरी कर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचना मार्फत उनीहरुलाई बोलाउनु परेकाले त्यसको सूचना मङ्गलबार प्रकाशन गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले प्राप्त उजूरी माथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक डाकेको छ ।
योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोच सम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो /होइन ठहर्याइ आवश्यक निर्णय लिनेइ छ । प्रस्तावित नाम अनुमोदन पछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।





















