चितवन / चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालमा असोज २८ गते २८१ वटा परीक्षण गरिएकोमा ५९ जनामा कोरोना देखिएको अस्पतालले जानकारी गराएको हो । अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार ५४ जना संक्रमित चितवन जिल्लाका रहेका छन् । संक्रमण पुष्टि हुने मध्ये एक जना राप्ती नगरपालिका वडा नं ९ का वडाध्यक्ष देबेन लामा पनि रहेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । अस्पतालले दिएको विवरण अनुसार भरतपुर महानगरपालिकाका ३०, रत्ननगरका ५, कालिकाका ३ , खैरहनीका ५, राप्तीका ७ तथा माडीका २ , इच्छाकामनाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन बाहेक काठमाडौका २, नवलपरासीका १ तथा तनहुँ र सर्लाहीका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
चितवनका संक्रमित ३ देखि ८७ वर्ष उमेरका रहेका छन् ।






















