हामी कहाँ २०७२ साल यता १७ जना महिलाहरू एसिड प्रहारबाट घाइते भए । आक्रमणकारी विरुद्ध कठोर कानुन ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । अन्ततः सरकारले एसिड प्रहार गर्ने, गैरकानुनी रूपमा यसको बेचबिखन गर्नेउपर कडा कारबाही हुनेगरी गत असोज ८ गते अध्यादेश पारित ग-यो ।
असोज १२ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अपराधको प्रकृतिअनुसार २० वर्षसम्मको कैद र १० लाखसम्मको जरिमानाका साथै पीडितको उपचार खर्चसमेत अपराधीबाट असुल गर्ने व्यवस्था अध्यादेशमा गरियो । एसिड प्रहारका विरुद्ध यो अध्यादेशजस्तै यतिबेला मुलुकमा बलात्कारविरुद्ध अर्को अध्यादेशकोे खाँचो महसुस गरिएको छ ।
बलात्कारको बढ्दो शृंखला
पछिल्लो समयमा समाजमा बलात्कारको बिगबिगी देखिन्छ । महिला हुनु नै अपराध हो त ? महिलाको जन्म बलात्कार हुनकै लागि भएको हो त ? प्रश्न उठन थालेका छन् । जबरजस्ती करणी, ललाइफकाइ यौन शोषण तथा सतित्व हरण गर्नुसमेत बलात्कार हो । आजकल मात्रामा फरक होला तथापि घटनाका रूपमा भने यो सर्वत्र घटेको देखिन्छ ।
प्रहरी प्रधान कार्यालयले जनाएअनुसार गत २०७६ चैतयता १ हजार २ सय २१ वटा बलात्कारका घटना घटेका छन् । यो त प्रहरीले थाहा पाएको तथ्यांक मात्र हो । प्रहरीलाई थाहै नदिई पञ्चायती (कचहरी) बसेर गुपचुपमा मिलापत्र गरिएका कैयौं घटनाहरू प्रहरीसमक्ष आइपुग्दैनन् । बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको कारण पनि कतिपय घटना मिलापत्रमा टुंग्याइएका हुन्छन् ।
माथिको तथ्यांकलाई हेर्ने हो भने प्रतिदिन झन्डै सात जना चेली बलात्कारको सिकार भएको देखिन्छ । अझ कतिपयको त बलात्कारपछि हत्या गरिएको समेत छ । कतिको अपराधी नै पत्ता लगाउन नसकेर अन्यायमा पिल्सिनुपरेका उदाहरण पनि छन् । विगत १० साउन २०७५ मा कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या यसैको उदाहरण हो ।
पछिल्लोपटक बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरियो । उनको शव गत असोज ७ गते स्थानीय शिव मन्दिरनजिकै फेला पर्यो ।
सोही गाउँका राजेन्द्र बोहरा पक्राउ परे । उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरीमाथि गत भदौ २९ गते सामूहिक बलात्कार भयो । पीडित युवतीलाई प्रहरीमा जान दिइएन । पञ्चायती बसी युवतीलाई पैसा दिएर घटना सामसुम पार्न खोजियो । पछि किशोरीले आत्महत्या गरिन् । (निगरानि टुडेबाट)





















