चितवन / चितवनमा तलब पाउनुपर्ने माग राख्दै शिक्षकहरुले मौन प्रदर्शन गरेको छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को अगुवाईमा वैशाख महिना देखिको तलब सुविधा नपाएको भन्दै जिल्ला सदरमुकाम भरतपुरको चौविसकोठी एक घण्टा बढी मौन प्रर्दशन गर्दै विरोधमा उत्रिएका हुन् र इष्टुको केन्द्रिय निर्णय अनुसार निर्देशन अनुसार देशभरका सबै जिल्लाहरूमा एकसाथ मौन प्रदर्शन गरिएको इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले जनाकारी गराए ।
इष्टुको राष्ट्रिय समिति सदस्यसमेत रहेका घिमिरेले कतिपय विद्यालयले चैतको पनि सेवा सुविधा नपाएको बताए। ‘हामीले जेठ अन्तिम साताबाटै आन्दोलन गर्दै आएका छौँ, तर अहिलेसम्म पनि विद्यालयले वास्ता गरेको छैन,’ उनले भने, ‘त्यसैले फेरि आन्दोलनमा सक्रिय हुन बाध्य भएका छौँ।’
पटकपटक ध्यानाकर्षण गराउँदा पनि शिक्षक कर्मचारीको सेवा सुविधाबारे नबोलेपछि दबाब दिनकै लागि आन्दोलनको बाटो रोज्न बाध्य भएको घिमिरेको भनाइ छ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षकले चाडवाड मुखैमा आए पनि विद्यालय सञ्चालक समितिबाट हालसम्म कुनै पनि सेवा सुविधा नपाएको घिमिरेले बताए।





















