चितवन/ सरकारको चाडपर्व लक्षित सुपथ मूल्यको पसल अन्तर्गत बिहीबारदेखि नारायणगढमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
बाहिर पसलमा भन्दा सस्तो मूल्यमा खाद्यान्नहरु उपलब्ध भइरहेको कर्पाेरेसनले जनाएको छ । पसलमा चिनी ७० केजी रुपैयाँ प्रतिकेजी, नुन केजीको १८ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको कर्पाेरेसनले आज प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ ।
चिनी र नुन एक व्यक्तिले एक पटकमा ४ केजीसम्म मात्र खरिद गर्न पाउने कार्यालय प्रमुख बुद्धि बिनोद दाहालले जानकारी दिनुभयो ।
चितवनमा बढ्दो कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सञ्चालनमा आएको हुनाले आवश्यक सुरक्षाका मापदण्ड भने उपभोक्ताले पालन गर्नुपर्ने कर्पाेरेसनले जनाएको छ । कार्यालयले यस भन्दा अगाडि पनि कठिन समयमा नुन, चिनी, चामल जस्ता अत्यावस्यक खाद्यान्न वस्तुहरुको अभाव हुन नदिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
कार्यालयले आफ्नो आवश्यकता भन्दा बढी सामान खरिद गरेमा बजारमा कृत्रिम अभाव सिर्जना हुने भएकोले त्यसो नगर्न पनि सबैमा सचेत गराएको छ ।





















