काठमाडौं / चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १६ दिन देखी अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । यद्यपी सरकारले अहिलेसम्म उनको अवस्था र मागबारे सोधपुछ र चासो समेत व्यक्त गरेको छैन ।
१९ औं चरणको अनसन बसेका डा. केसीलाई बारम्बार छाती दुख्ने, धड्कनको गति एकनाश नहुने, मांसपेशी बाउँडिने, थकाइ र पटक पटक चक्कर लाग्ने समस्या भएको उपचारमा संलग्न चिकित्सक डा. सुवासप्रसाद आचार्यले जानकारी दिए ।
आपतकालिन रक्त बाहिनी नलीमा पहुँच कायम राख्न डा. केसीलाई सामान्य स्लाइन दिइएको छ । उनले अन्य तरल तथा इलेक्ट्रोलाइन लिन अस्वीकार गर्दै आएका छन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको रगतमा सेतो रक्तकोषिकाको संख्या पनि कम देखिनुका साथै ब्लड सुगरमा कमी, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरसजस्ता इलेक्ट्रोलाइटको मात्रा समेत घटेको पाइएको छ ।
डा. केसीले १९औं सत्याग्रह जुम्लाबाट शुरु गरेका हुन । त्यहाँ उनको स्वास्थ्य विग्रदै गएपछि उनलाई काठमाडौं ल्याइएको हो । उनी हाल त्रिबि शिक्षण अस्पताल महाराजगंजमा अनसनरत छन् ।
अनसनको समर्थनमा सोलिडारिटी अफ डा.केसी अलायन्सले काठमाडौंको माइतीघर मण्डलामा हरेक साँझ ५ बजे प्रदर्शन गर्दै आएको छ ।





















