काठमाडौं / पछिल्लो २४ घण्टामा १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्।
हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टायता १ हजार १४७ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना निको हुने ५३ हजार १३ पुगेका छन्।
यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।
गौतमका अनुसार देशभरका ४९ वटा ल्याबमा २४ घण्टायता १० हजार भन्दा धेरैको पिसिआर परीक्षण भएको छ। शनिबार देशभर १८ हजार ३४१ सक्रिय संक्रमित छन्। तीमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना बसिरहेका छन्।
देशभरका क्वारेन्टाइनमा ६ हजार ३३१ जना रहेको गौतमले बताएका छन्। मन्त्रालयका अनुसार कोरोना जित्नेको दर ७३.८ प्रतिशत रहेको छ। त्यसैगरी कोरोना संक्रमितमध्ये आइसियुमा उपचार गर्नेको संख्या पनि बढ्दैछ।
हाल २ सय २४ जना आइसियुमा उपचाररत छन्। जसअनुसार प्रदेश १ मा १४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा १२१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना र कर्णालीमा १८ जना आइसियुमा उपचारत छन्।
त्यसैगरी भेन्टिलेटरमा उपचार गर्नेको संख्या २७ रहेको छ। जसमा प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २३ जना प्रदेश ५ मा ३ जना रहेका छन्।





















