काठमाडौं / सर्वोच्च अदालतले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा तामेलीमा राख्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको मंगलबारको इजलाशले ओली र प्रचण्डविरुद्ध ३ वर्ष अगाडि परेको मुद्दा तामेलीमा राख्न आदेश/फैसला सुनाएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियतमा रहेका बेला ओली र प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मुद्दा परेको थियो ।
२०७४ सालको मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठवन्धनको चुनाव चिह्न र मतपत्र फरक फरक हुनुपर्ने माग सहितको रिटमा अदालतको आदेश विरुद्ध अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै ओली र प्रचण्ड विरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।
ओली र प्रचण्डलाई प्रतिवादी बनाइएको मुद्दामा शुक्लाले जनही १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने मागदाबी गरेका थिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रहेका सर्वेन्द्रनाथ शुक्लाले ओली र प्रचण्ड विरुद्ध मुद्दा दायर गरेका थिए ।






















