काठमाडौं / प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गतेका लागि बोलाएको छ।
केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो बैठक फागुनमा हुने भनिएको १४ औँ महाधिवेशनको तयारीमा केन्द्रित हुने बताइएको छ।
१९ गतेको बैठक महाधिवेशन फागुन ७ पछाडि कुन मितिमा गर्ने भन्ने विषयमा पनि छलफल गर्नेछ। कांग्रेसको साङ्गठानिक संरचना, सदस्यता नवीकरण तथा वितरणको काम तोकेको समयमा नसकेपछि फागुनमा महाधिवेशन नहुने लगभग पक्कापक्की भएको छ।
कांग्रेसले बैठकअघि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्नेछ। कांग्रेसले असोज १५ गते विहान ११ बजेबाट ३ बजेसम्म सबै पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीको अनिवार्य उपस्थित हुन भनेको छ।
























