काठमाडौँ / औषधि व्यवस्था विभागले मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योगहरुलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ वटा उद्योग रहेका छन् ।
मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्ति सहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।
हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।
यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो ।
विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।
क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ ।
कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ । ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने सन्तोष केसीले बताए ।





















