उनीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनमा मात्र निषेध जारी राखेको भन्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउने अवस्था नबने असोज १ गते देखि कुनै पनि हालतमा सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन् ।
असोज १ गते विश्वकर्मा पूजा रहेको र त्यस दिन देखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने चेतावनी उनीहरुले दिएका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सार्वजनिक यातायात चलाउने बताए ।
उनका अनुसार विभागलाई सहजीकरण गर्न र सवारी सञ्चालनका लागि विकल्प दिन भनिएको र त्यसो नभए सार्वजनिक सवारी चलाउने बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले सार्वजनिक यातायात चलाउने निर्णय आफूहरुले नभइ सरकारले गर्ने बताए ।
कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले चैतबाट लकडाउन गरेको थियो । त्यसयता लामो दुरीका सार्वजनिक सावरी साधन चल्न सकेका छैनन् ।
केही समय अन्तर जिल्ला र छोटा दूरीका सवारी सञ्चालन भएको भएपनि अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि गाडी चल्न सकेका छैनन् । जसको मारमा यातायात व्यवसायी र मजदूरहरु परेका छन् ।





















