चितवन / नेपाल प्रेस युनियन चितवनले पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आज मंगलबार विज्ञप्ति प्रकाशित गरी अनुदानको मल महंगोमा बिक्री भएको विषयमा पत्रकारले सोध खोज गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले धम्की पूर्ण भाषा प्रयोग गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा रत्ननगर नगरपालिका वडा नं. १ मा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले अनुदानको मल महंगोमा बिक्री गरेको विषयमा प्रमुख जिल्ला अधिकारी भट्टराईसँग जानकारी लिन खोज्दा न्यूज २४ टेलिभिजनका चितवन संवाददाता केदार शर्मालाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सो घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा कालिका अनलाइन दैनिकका प्रधान सम्पादक शिशिर सिंखडा प्रति पनि प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको जनाइएको छ ।
विवादित विषयमा अनुसन्धान गर्नुको सट्टा उल्टै समाचार लेख्ने पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “जिल्लामा मलको कालोबजारी नियन्त्रण गर्न नसकेको स्थानीय प्रशासन पत्रकार माथि खनिनुलाई आम जिल्लावासीले शंकाको रुपमा हेरेका छन् ।”
प्रेस युनियनले घटनाको दोषी पत्ता लगाइ कारबाही गर्न माग समेत गरेको छ ।





















