वीरगन्ज / वीरगन्जस्थीत नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार निधन भएको छ ।
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई भदौ १३ मा नारायणी अस्पताल ल्याएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अन्य विधि भन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि गत आइतबार राति १० बजेदेखि उपचार थालिएको थियो । गत आइतबार राति करिब २ घन्टासम्म चलेको प्लाज्मा थेरापी पछि संक्रमित पुरुषको स्वास्थ्य सुधारोन्मुख रहेको भनी उपचारमा संलग्न चिकित्सक डा . उदयनारायण सिंहले प्रतिक्रियासमेत दिएका थिए ।
प्लाज्मा थेरापी गरेको आठौं दिनमा उपचारको क्रममै संक्रमित पुरुषको मृत्यु भएको हो ।





















