काठमाडौं / बितेको २४ घण्टामा देशभर ९ सय ८० जना कोरोना भाइरसका थप नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन्। यससँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २५७ पुगेको छ।
गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १७ हजार २७ छ। त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १८ सय १४ छ भने हालसम्म निको हुनेहरूको संख्या २८ हजार १४८ छ। यो दर भनेको निको हुनेको ६३ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १० हजार ३८२ को पिसिआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।





















