चितवन / चितवनका ३० सहित चितवनमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन् । जसमा १० वर्षीय बालकदेखि ६६ वर्ष सम्मका १८ जना पुरुष र १० वर्षीया बालिका देखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् ।
उनीहरु भरतपुर महानगरपालिका वडा नंं.२, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब संकलन गरिएको हो ।यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरि चितवन बाहिरका नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा शनिबार राति कुल १३४ जनाको जाँच गरिएको थियो ।





















