रौतहट / गरुडा–८ का २० बर्षिय निरन्जन रामको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा मृत्यु भएका १९ बर्षिय बिजय रामलाई न्यायको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री बिश्वेन्द्र पासवनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
उनको स्वास्थ्य अवस्था खराब भएको भन्दै प्रहरीले बिहीबार मध्यराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै अनशन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि भन्दै प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले राति नै एम्बुलेन्समा धरान पुर्याएको हो । उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको थियो । अनसनस्थलमा उनका समर्थक र प्रहरीबीच दिनहुँजसो झडप हुने गरेको थियो ।
जिल्ला प्रहरी गौरले पासवानको स्वास्थ्य अवस्था नाजुक भएकाले अस्पताल पुर्याइएको जनायो । तर, पासवानका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा मोबाइल फोन नियन्त्रणमा लिई जबरजस्ती धरान पुर्याएको बताएका छन् ।
गरुडामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीले आन्दोलनकारीलाई गरुडा बजार प्रवेश गर्न दिएको छैन ।





















