चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गतेदेखि ३१ गतेसम्म पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।यससँगै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको एक सूचना प्रकाशित गरी जानकारी गराईएको छ । चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वीचितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिका समेत निषेधाज्ञा जारी गरिएको थियो । पछि थपिएको साता निषेधाज्ञाको बेला माडी नगरपालिकामा समेत निषेधाज्ञा थप गरिएको थियो ।
जिल्लामा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमण देखिन थालेको छ । भरतपुरमा शुक्रबार विहान सम्ममा ५९४ जना संक्रमित पुगेका छन् । यस्तै जिल्लामा कुल संक्रमितको संख्या ९३३ पुगेको छ ।





















