चितवन / पछिल्लो समय चितवनमा पोल्ट्री, केरा, माछा, मौरी, दूध उत्पादनपछि बाख्रापालनमा समेत युवाको ध्यान केन्द्रित हुन थालेको छ । विशेषगरी बिदेशबाट फर्केर आएका युवा तथा शिक्षित युवापनि व्यवसायिक बाख्रापालनमा रम्न थालेका छन् । उपयुक्त हावापानी र राम्रो आम्दानीका साथै जोखिम कम भएकोले पनि यसतर्फ युवाहरुको आकर्षण बढेको हो ।
यस जिल्लाका अधिकांश नगरपालिकामा व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको छ । हुनत विश्वकै महंगो प्रजातिको व्यवसायिक बोयर बाख्रा पालन पनि चितवन जिल्लामै भइरहेको छ ।
कुखुरा तथा गाईवस्तु पालनको तुलनामा बाख्रापालनमा खर्च र जोखिम कम भएकोले बाख्रापालन तर्फ आकर्षण भएको ती व्यवसायीहरु बताउँछन् । कैयौं चितवनका किसानले शुरुआती क्षणमा निर्वाहमुखी बाख्रापालन गर्दै आएपनि अहिले लगानीसमेत वृद्धि गरी यस व्यवसायलाई विस्तार गर्दै लगेका छन् ।
भरतपुर महानगरपालिका–२१ का दिपक सापकोटा बिदेशबाट फर्किएको केही समयपछिनै बाख्रपालन शुरु गरेको बताउँछन् । ‘म मलेशिया र साउदी गरेर १० वर्ष बिदेश बसें’, उनले भने, ‘फर्किएपछि अहिले बाख्रापालन गरेर राम्रो आम्दानी गरिरहेको छु ।’ उनले शुरुआती क्षणमा कुखुरा पालनगर्न मन लागे पनि रोग र मूल्यको उत्तारचढावले बाख्रा पालन गर्न शुरु गरेको बताए ।
पहिले छ ओटा पाठापाठीबाट व्यवसाय शुरु गरेपनि अहिले यसलाई विस्तार गरेर खोर र घाँस व्यवस्थापन गर्न लागेको उनले बताए । खसीको मासुको माग उत्तिकै रहेको र पाल्नपनि सहज भएकोले अधिकांश युवाहरु यसतर्फ आकर्षण भएका हुन् ।
कुखुरापालनको तुलनामा बाख्रापालन गर्दा आम्दानी र सजिलै विक्री हुने भएकोले आफू बाख्रापालन शुरु गरेको बताउँछन्, भरतपुर महानगरपालिका–२३ का किसान रामप्रसाद अधिकारी । ‘मलाई पहिले यसबारे अनुभव थिएन, कुखुरा पाल्ने सोचमा थिंए’, उनले भने, ‘पछि मैले मेरो निर्णय नै परिवर्तन गरें ।’
आफू कुवेतमा पाँच वर्षपछि फर्केर आएको र स्थानीय जातको जमुनापारी बाख्रा पाल्न शुरु गरेको उनले बताए । ‘शुरुमा सानै लगानीमा लोकल जातकै पालेको छु पछि उन्नत जातको बोयर बाख्रा पाल्ने योजना छ’, उनले भने ।
जिल्लाको सबै पालिकामा अहिले बाख्रापालन गर्ने किसानहरु उल्लेखनीय रुपमा बढेका छन् । माडी नगरपालिका–७, देवेन्द्रपुरमा माडी एग्रो फार्म सञ्चालन गरेका नीलकण्ठ काफ्लेले बाख्रापालनको संभावना देखेर व्यवसाय शुरु गरेको बताए ।
यसअघि माडीमा स्थानीय जातका बाख्रासहित जमुनापारी, बारबारी, खरीलगायत जातका बाख्राहरु पलन गर्ने गरिएको भएपनि कतिपय युवाले विदेशबाट बोयर जातको उनन्त बाख्रा भित्र्याएर व्यवसाय गरिरहेको उनी बताउँछन् ।
विगत छ वर्षदेखि अष्ट्रेलियाबाट बोयर बाख्राको ब्याड ल्याएर बाख्रापालन शुरु गरेका भरतपुर महानगरपालिका – २३ जगतपुर एग्रो फार्मका सञ्चालक योगेन्द्र खड्का पछिल्लो समय युवाहरुमा बाख्रापालन गर्न रुचि बढेको बताउँछन् ।उनले भने, ‘मैलै अहिले झण्डै ५५ ओटा जिल्लामा बोयरको पाठापाठी बेचिरहेको छु, तर मागमा कहिल्यै कमी आएको छैन । वर्षदिन देखिको बुकिङ अग्रिम छ । ’
खसीको मासुको अत्याधिक माग बढेको र भारतबाट पनि भित्रिन छाडेकोले बाख्रापालनतर्फ युवाहरु आकर्षित भएको उनको भनाइ छ । ‘दैनिक खर्चपनि यसको कमनै हुन्छ, विक्री नहुने भन्ने डर पनि हुँदैन’ उनले भने ।
घर वरपर तथा नजिकको जंगलमा रहेको घाँसपातले पनि बाख्रापालन गर्न सकिने र यसको मूल्य नघटेका कारण पनि यसतर्फ किसानहरु थपिदै गएको उनले बताए ।
सरकारले पनि यस्ता लघु व्यवसायलाई प्रर्वद्धन गरी युवालाई आकर्षित गर्न विभिन्न अनुदान र सेवा सुविधाको कार्यक्रम ल्याएको छ । खोर बनाउन, घाँसको बीउ र प्राविधिक सहयोग सजिलै पाउने भएकोले बाख्रापालनतर्फ किसानको संख्या बढेको बताउँछन्, पशुसेवा विज्ञ केन्द्रका चिकित्सक विकास श्रेष्ठ ।
‘गत वर्षमात्र हामीले १६ जनालाई प्रतिफार्म रू.२ लाख अनुदान दिएका थियौं’, उनले भने, ‘अहिले पनि बाख्रापालनमा संलग्न युवाहरु दैनिकरुपमा परामर्शको लागि आउने क्रम बढेको छ ।’ उनका अनुसार कुखुरा तथा दुग्ध उत्पादक किसानहरु पनि पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् ।अभियान डेलीबाट





















