पोखरा /कोरोना महामारीको कारण लागू गरिएको निषेधाज्ञा र लकडाउन स्याङ्जामा हटाइएको छ।
निषेधाज्ञा हटाइए पनि अनावश्यक हिँडडुल गर्न भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। नयाँ संक्रमितको संख्या न्यून हुँदै गएको कारण निषेधाज्ञा केही खुकुलो बनाइएको हो। अहिले जिल्लामा ३१० संक्रमितमध्ये पाँच जना मात्र आइसोलेसनमा छन्। जिल्ला कोरोना संङ्कट व्यवस्थापन समिति स्याङ्जाको बैठकले १८ गते राति १२ बजेसम्म लागू हुनेगरी अनावश्यक जमघट, सवारीसाधनको प्रयोग र हिँडडुल गर्न भने स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए। क्षेत्रीले भने, ‘जिल्लामा नयाँ संक्रमण घट्दै गएको छ।
१८ गते पछिको अवस्था हेरेर जिल्लाभित्रको आन्तरिक गतिविधि सहज बनाउने तयारीमा छौँ।’ निषेधाज्ञा हट्यो भन्दैमा लापरबाही गर्न नहुने बताउँदै नाकामा कडाइ गर्ने र बाहिरबाट आएकालाई सम्बन्धित पालिकाको क्वारेनटिनमा राखिने प्रजिअ क्षेत्रीले बताए। १८ गते सम्म अत्यावश्यक सवारीसाधन बिहान ६ देखि ९ बजेसम्म सञ्चालनमा आउनेछन्। त्यस्तै, परिचय पत्र वहाक कर्मचारीको सवारीसाधन बिहान ९ देखि १० र बेलुकी ५ देखि ६ सम्म प्रयोग गर्न पाइनेछ।
यसैगरी, अत्यावश्यक खाद्यान्न तरकारी डेरी लगायतका पसल बिहान ६ देखि ९ र साँझ ४ देखि ७ सम्म स्वास्थ्यको मापडण्ड पूरा गरेर खोल्न पाइने छ। यस्ता पसलहरुमा विक्रेता र उपभोक्ता सामाजिक दूरी कायम हुनुपर्ने, मास्क र सेनिटाइजर अनिवार्य लगाउनुपर्नेछ। प्रशासनले तोके बमोजिमको मापदण्ड पूरा गरेर पसलहरु खुलाइएको वालिङ ८ का व्यवसायी श्रीधर तिवारी बताउँछन्।
छिमेकी जिल्लामा संक्रमण बढिरहेको बेला स्याङ्जामा भने केही खुकुलो बनाउंदा कतै संक्रमितको संख्या बढ्ने त होइन यो विषयमा प्रशासन मात्र होइन आम सर्वसाधारण पनि सचेत हुन जरुरी छ।





















