काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) सचिवालयका सदस्य आइसोलेसनमा बस्नु परेपछि सचिवालय बैठक स्थगित भएको छ ।
कोभिड –१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएको छ । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बसेका छन् ।
सचिवालयका दुई जना सदस्य आइसोलेसनमा बस्नु परेपछि शनिबार बोलाइएको सचिवालय बैठक भदौ १८ गते बस्नेगरी स्थगित भएको छ । पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो ।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बसेका थिए ।
नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएको भोलिपल्ट अर्थात भदौ १३ गतेलाई सचिवालय बैठक तय भएको थियो ।





















