चितवन / दोस्रो चरणको निषेधाज्ञाको आज शुक्रबार अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विज्ञप्ती मार्फत जानकारी दिए ।
जिल्ला प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज शुक्रबार राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ ।
दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने व्यवसायीहरुबाट केही गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने निर्णय गरेका छौं ।
यस अघि प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते राति सम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।





















