क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आज राति आफ्नो तेस्रो खेल खेल्दै छन्।
सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन वारियर्सविरुद्ध खेल्दै छ ।
सन्दीपले सीपीएलमा हालसम्म खेलेका दुई खेलमा दुई विकेट लिएका छन।
उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए।
यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए।
सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले गुमाएको थियो।
ट्रिनबागो दुवै खेल जितेर हालसम्म शीर्ष स्थानमा रहेको छ । दुई खेलमा एउटामा जित तथा एउटामा हारका साथ गुयाना दोस्रो स्थानमा छ।
यस्तै दुई खेलमा एकमा जित र एउटामा हारका साथ जमैका चौथो स्थानमा छ । रनरेट कमजोर हुँदा जमैका चौथो स्थानमा झरेको हो।
गुयाना पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो। सन्दीप तेस्रो पटक सिपिएल खेल्दैछन्।
उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलका थिए।
यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।एजेन्सीबाट





















