काठमाडौं / थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत तीनजना चिकित्सकसहित आठजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. श्रीप्रसाद अधिकारीले पछिल्लो एक सातामा कन्ट्याक्ट ट्रेसिङका क्रममा ७० जनाको पिसिआर परीक्षण गरिएको थियो। त्यसक्रममा डाक्टर सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये दुई जनालाई टेकुस्थित शुक्रराज अस्पतालमा र बाँकीलाई होम आइसोलेसनमा राखिएको डा. अधिकारीले बताए। अस्पतालमा प्रसूतिका लागि आउने गर्भवतीहरुका लागि ‘ट्रायज’ गरी जोखिम देखिएकालाई कुपण्डोल स्थित अस्पतालकै आइसोलेसन भवनमा लगेर राखिने भएको छ।
उनीहरुमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि थापाथलीमै ल्याएर प्रसूति गराइने भएको छ। यदि पोजेटिभ देखिए आइसोलेसन सेन्टरबाटै प्रसूति गराउने व्यवस्था मिलाइएको डा. अधिकारीले बताएका छन्।
अस्पतालका अनुसार त्यहीँको काउण्टरमा काम गर्ने नेपाल इन्भेस्टमेन्ट बैंकका ४ जना कर्मचारीमा पनि कोरोना पोजेटिभ भएको छ।





















