काठमाडौं / सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्न सकिने जनाएको छ।त्यो खर्च सम्बन्धित हवाई उडान कम्पनीले नै बेहोर्ने छ।
त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हवाईजहाजबाट ल्याइने यात्रुको अनिवार्य पिसिआर परीक्षण गर्नै पर्ने निर्णय लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्।
सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको हो ! पिसिआर परीक्षण भएका मुलुकबाट मात्रै नियमित र उद्धार उडान चलाइने जनाएको छ।
तर पिसिआर परीक्षण अनिवार्य नभएका कुवेत, कतार र साउदी अरेबियाबाट भने यात्रु ल्याउन नसकिने खतिवडाले बताए। पिसिआर परीक्षण अनिवार्य भएका र नभएका देशबाट एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले यस्तो निर्णय गरेको हो। खतिवडाले कोरोना परीक्षण अनिवार्य नभएका मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने बताएका छन्। त्यसरी आउने यात्रुले काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने खतिवडाले बताए।
पिसिआर गरेका र नगरेका यात्रु एउटै विमानमा ल्याएको हकमा भने सबैजाले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताउँदै खतिवडाले त्यसको सबै खर्च पनि यात्रु ल्याउने सम्बन्धित एयरलाइन्सले नै व्यहोर्नुपर्ने पनि बताए।
खतिवडाले पिसिआर परीक्षण सहज नभएका मुलुकहरुमा चार्टर उडान मात्रै सञ्चालन गरिने पनि जानकारी दिएका छन्। सरकारले त्यसरी काठमाडौं आउँदा जहाज चढ्नु ७२ घण्टा अगाडिको कोभिड रिपोर्ट चाहिने व्यवस्था पनि गरिएको बताए। ‘परीक्षणबिनाको यात्रु ल्याएमा कम्पनी कारवाहीमा पर्नेछन्’, उनले भने, ‘एउटै उडानबाट पिसिआर परीक्षण गरेका र नगरेका यात्रु ल्याउन पाइने छैन। त्यसो गरे सबैजना होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ।





















