काठमाडौं / बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
– चार्टर्ड तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने । हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण । हवाई मार्गबाट आउनेहरूले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ र होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरूको सूची त्यस देशमा रहेको दूताबासले तोके बमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मापदण्ड तोकिएको छ ।
– १० वटा स्थल नाकाहरूबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने ।
– विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने । काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक कमिटी गठन गर्ने । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु रहनेछन् ।
– काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रकलगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिइने ।
– नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरूलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने ।
– राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरू पमा श्रद्धाञ्जली अर्पण । साथै बाढीपहिरो र कोरोनालगायतका प्रकोपबाट मृत्यु हुनेहरूप्रति पनि श्रद्धाञ्जली अर्पण ।





















