काठमाडौं / केही दिनदेखि स्थगित भएको विदेशमा रहेका नेपालीको उद्धार चार्टर उडान फेरि सुरु हुने भएको छ ।
सरकारले जेठ अन्तिम सातादेखि साउन मसान्तसम्म चार्टर उडानबाट ५० हजार नेपालीलाई स्वदेश फर्काएको थपछिल्लो पटक उडान रोकिएकोमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठक दैनिक तीनवटा उडानमार्फत उद्धार गर्ने निर्णय गरेको हो ।
यसअघि विदेशबाट उद्धार गरी ल्याइएकालाई काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा लगेर स्वास्थ्य जाँच गराइ सम्बन्धित प्रदेशको जिम्मा लगाइन्थ्यो। तर, पछिल्लो पटक उपत्यकासहित धेरैजसो ठाउँमा संक्रमित बढ्न थालेपछि विदेशबाट ल्याइएकालाई काठमाडौंमै क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको थियो ।
काठमाडौं महानगरपालिका सहितले ५ हजार क्षमताको क्वारेन्टाइन निर्माण थालिसकेको अवस्थामा सरकारले फेरि उद्धार उडान थाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसैगरी बैठकले उद्योग तथा कलकारखानाका कच्चा पदार्थ बोकेका ढुवानीका सवारीसाधन चल्न दिने निर्णय पनि गरेको छ ।
निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा अत्यावश्यक बाहेकका ढुवानीका साधन सञ्चालनमा समेत रोक लगाइएका बेला मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा कोरोना भाइरसको अवस्थामा स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञा माथि विमर्श भएको थियो ।
बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रले तयार पारेको प्रस्तावमाथि समेत छलफल भएको थियो।
























