काठमाडौं / नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच फेरी खटपट परेको छ ।
विहिबार प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले ओली पछिल्लो समय गरेका नियुक्तिहरुप्रति असहमति दर्ज गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सोही नियुक्ति प्रति प्रचण्डले असहमति प्रकट गरेका हुन् । उनले ओलीसँग भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो, –‘तपाईले सचिवालयसँग सल्लाह नगरी कुनैपनि नियुक्ति गर्दिन भन्नुभएको थियो, तर गर्नुभयो । तपाई आफु खुशी गर्दै जाने हो भने कार्यदलको काम छैन, भंग गरौं ।’
यसैगरी ओलीले मंगलबार आफु पक्षिय गुटका नेताहरुको भेला बालुवाटारमा राखेको सुइको समेत प्रचण्डले पाएका छन् ।
ओलीले आफुहरुसँग सहमति कुरा गरे पनि भित्रभित्रै षड्यन्त्र गरिरहेको र कार्यशैली नसच्याएको भन्दै प्रचण्ड आक्रोशित बनेका छन् ।
जवाफमा ओलीले प्रचण्डलाई –‘अँ साथिहरुले प्रस्ताव ल्याइहाल्नु भयो, मैले त सल्लाह गर्नुपर्छ भनेकै हो । माइन्युट भइहालेछ’ भनेर उत्तर दिएको स्रोतले बतायो ।
पछिल्लो समय कार्यदल गठनदेखि नै नेकपा बृतमा प्रचण्ड फेरी एकपटक ओलीको लहलहैमा फसेको चर्चा चल्न थालेको छ ।
आजै विहिबार बसेको मन्त्रिपरिषदको बैठकले समेत केही राजदुतहरुको निर्णय गरेको बताइएको छ । यसबारे पनि ओली बाहेक नेकपाका अन्य नेताहरु थाहा नभएको बताउछन् ।





















