चितवन – राइनो क्लब नारायणगढले स्वास्थ्य र खेलकुदको प्रवर्द्धन गर्दै युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आगामी कात्तिक १४ गते पाँच किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु हुने दौड नारायणगढको लीलाचोकमा पुगेर समापन हुनेछ। कार्यक्रम संयोजक महेश प्रधानले प्रतियोगिताबारे जानकारी दिनुभएको हो।
प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुन दुई सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई पदकचिह्न र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, ५० वर्षमाथिका धावकले निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गरेमा मायाको चिनो र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी खेलाडीको सुरक्षाका लागि एम्बुलेन्स, प्राथमिक उपचार तथा स्वयंसेवकको व्यवस्था गरिने कार्यक्रमका सहसंयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिनुभयो। दौड मार्गमा यातायात व्यवस्थापनका लागि सम्बन्धित प्रहरी निकाय तथा स्थानीय तहसँग समन्वय गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक १ गतेदेखि १२ गते बेलुका ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। इच्छुक धावकले नारायणगढको श्रीया कोल्ड स्टोर, क्षेत्रपुरस्थित राइनो फिटनेस सेन्टर र लायन्सचोकस्थित शुभ पेट्रोल पम्पबाट नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
राइनो क्लब नारायणगढले लामो समयदेखि यस क्षेत्रमा खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतियोगिताले युवामा अनुशासन, स्वास्थ्यप्रतिको सचेतना र खेलकुद भावना विकास गर्नुका साथै सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने क्लबले विश्वास लिएको छ।
























