चितवन । लायन्स क्लब अफ चितवन गोल्डेनको आयोजनामा भरतपुर ११ मा रहेको कमलादेवी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर मंगलबार बिहान आयोजित कार्यक्रममा मन्दिर परिसरको सरसफाइ गर्नुका साथै सिंगारपटारसमेत गरिएको थियो।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन्स राजु पौडेल ले सहजीकरण गर्नुभएको थियो। धार्मिक स्थलको स्वच्छता, संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
मन्दिर परिसरमा सरसफाइ तथा सजावट गरी धार्मिक स्थललाई थप स्वच्छ र आकर्षक बनाउन सहयोग गरेको भन्दै कमलादेवी मन्दिर व्यवस्थापन समितिले लायन्स क्लब अफ चितवन गोल्डेनप्रति धन्यवाद व्यक्त गरेको छ।
क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
























