काठमाडौँ । मरहट्टा सेवा प्रतिष्ठानको दशौँ साधारण सभा काठमाडौँको स्वयम्भूस्थित स्टार बैङ्क्वेटको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष ध्रुवबाबु मरहट्टाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ सदस्यद्वय चुडाकुमारी मरहट्टा र षडानन्द मरहट्टा क्रमशः प्रमुख अतिथि र विशेष अतिथिका रूपमा हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव दिपकबाबु मरहट्टाले गर्नुभएको थियो ।
समारोहमा युवा समूहका सचिव नारायणबाबु मरहट्टा, महिला समूहकी सचिव उमा तिमल्सिना मरहट्टा, प्रतिष्ठानका सदस्य डा. गोपालबाबु मरहट्टा र सल्लाहकार तथा संस्थापक अध्यक्ष काशीनाथ मरहट्टाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
साधारण सभामा कोषाध्यक्ष शिवराम मरहट्टाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, महासचिव दिपकबाबु मरहट्टाद्वारा प्रस्तुत संस्थागत गतिविधि सम्बन्धी प्रतिवेदन र अध्यक्ष ध्रुवबाबु मरहट्टाद्वारा प्रस्तुत भावी योजना सम्बन्धी प्रतिवेदनमाथि व्यापक छलफल गरी सर्वसम्मतिले पारित गरियो।

कार्यक्रममा संस्थागत धारणा राख्दै महासचिव दिपकबाबु मरहट्टाले प्रतिष्ठानले सामूहिक हित प्रवर्धन, इतिहास र पहिचानको संरक्षणका साथै मितव्ययिता र पारदर्शितालाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो।
अध्यक्ष ध्रुवबाबु मरहट्टाले आफूलाई निरन्तर प्रेरणा र बलियो साथ दिने बन्धुहरूप्रति आभार व्यक्त गर्दै वंशावली संशोधनको कार्यलाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।
साधारण सभाका अवसरमा हालै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त हुनुभएका डा. सृजनबाबु मरहट्टा र त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गर्नुभएका डा. गोपालबाबु मरहट्टालाई विशेष सम्मान गरियो।


त्यसैगरी, २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) र कक्षा १२ को परीक्षा उत्तीर्ण गर्ने मरहट्टा परिवारका २४ जना बालबालिकालाई सम्मानपत्र प्रदान गरिनुका साथै ३० जना नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो।
सोही समारोहका बिच मरहट्टा सेवा प्रतिष्ठानद्वारा प्रकाशित मरहट्टा स्मारिका २०८३ र पूर्वीय सभ्यता, संस्कार तथा हिन्दु परम्परामा प्रयोग हुने मन्त्रहरूको सङ्गालो समेटिएको पोस्टर विमोचन गरियो।
स्मारिका र मन्त्र पोस्टरबारे प्रकाशन समितिका संयोजक हरिप्रसाद मरहट्टा तथा सल्लाहकारद्वय भरतमणी मरहट्टा र चन्द्रप्रकाश मरहट्टाले संक्षिप्त टिप्पणी गर्नुभएको थियो।
महासचिव दिपकबाबु मरहट्टाले यस प्रकाशनले वंश, परम्परा र इतिहासको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानबारे सुसूचित गराउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
अध्यक्ष ध्रुबबाबु मरहट्टाले कडा मेहनतका साथ स्मारिका प्रकाशन गरेकोमा प्रकाशन समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो।
























