काठमाडौँ । नेकपा संसदीय दलको बैठकले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यसँगै आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाटमा केन्द्रित हुन निर्देशन दिएको छ।
प्रमुख सचेतक युवराज दुलालका अनुसार हालै बसेको दलको बैठकले संसद् अधिवेशनको अन्त्यसँगै सांसदहरूलाई जनताका घरदैलोमा पुग्न र जनसरोकारका विषयमा जोड दिन आग्रह गरेको हो।
बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिहरूको सक्रियता तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा गम्भीर समीक्षा गरिएको छ।
प्रमुख सचेतक दुलालले आगामी दिनमा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइने एजेन्डालाई अझ बढी प्रभावकारी, जनमुखी र परिपक्व बनाउने विषयमा समेत व्यापक छलफल भएको जानकारी दिएका छन्।
























