चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा राजन दाहाल विजयी भएका छन्।
कडा प्रतिस्पर्धाबीच दाहालले २७२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा जित दर्ता गराएका हुन्।लामो समयदेखि विद्यार्थी राजनीतिमा समर्पित दाहालको यो जितलाई उनको निष्ठा र निरन्तरताको उच्च मूल्यांकनका रूपमा हेरिएको छ।
स्कुल इकाइदेखि नेविसंघको केन्द्रीय राजनीतिसम्म
दाहालको राजनीतिक यात्रा माडीस्थित जनकल्याण माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ अध्यक्षका रूपमा सुरु भएको थियो। त्यसपछि सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा नेविसंघलाई बलियो बनाउन र विद्यार्थी आन्दोलनको नेतृत्व लिन उनले अहम् भूमिका खेले।
संगठनात्मक क्षमताका धनी दाहालले साविक चितवन क्षेत्र नं. ५ को नेविसंघ क्षेत्रीय अध्यक्ष, चितवन जिल्ला उपाध्यक्ष हुँदै नेविसंघ केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए। विद्यार्थी हक-हितका मुद्दामा अग्रपङ्क्तिमा उभिने र आन्दोलनलाई ऊर्जा दिने युवा नेताको रूपमा पहिचान बनाएका दाहाल अहिले माउ पार्टी नेपाली कांग्रेसको मूल राजनीतिमा प्रभावशाली ढंगले अघि बढिरहेका छन्।
लोकतान्त्रिक विरासत र पारिवारिक प्रेरणा
राजनको राजनीतिक यात्रामा पारिवारिक पृष्ठभूमिकाे ठूलो योगदान छ। उनका पिता नारायणप्रसाद दाहाल पञ्चायतकालमै लोकतन्त्रको पुनर्वहालीका लागि पटक-पटक जेल परेका निष्ठावान् नेता हुन्।
साविक कल्याणपुर गाविसका पूर्व सभापति, पार्टीका जिल्ला सदस्य एवम् साविक क्षेत्र नं. ५ का क्षेत्रीय सभापति भइसकेका नारायणप्रसाद प्रजातान्त्रिक सेनानी संघका पूर्व केन्द्रीय सदस्य तथा वर्तमान सल्लाहकार हुन्। बाल्यकालदेखि नै घरमा राजनीतिक वातावरण र लोकतान्त्रिक संस्कार देखेर हुर्किएका राजनलाई सोही विरासतले राजनीतिमा समर्पित हुन थप प्रेरणा दियो।
राजनीति, समाजसेवा र उत्पादनको त्रिवेणी
पद र प्रतिष्ठामा मात्र सीमित नरही जनताको सुख-दुःखमा सँगै उभिनु दाहालको अर्को सबल पक्ष हो। अस्पताल पुगेका बिरामीलाई सहयोग गर्नेदेखि प्रशासनिक काममा सहजीकरण गरिदिनेसम्मका सामाजिक कार्यमा उनी सधैँ अगाडि सरिहाल्छन्।
राजनीति र समाजसेवासँगै उनी उत्पादनमूलक कार्यमा पनि उत्तिकै सक्रिय छन्। माडीमा व्यावसायिक माछापालनसहित अन्य कृषि उद्यममा जोडिएर उनले आत्मनिर्भर राजनीतिको गतिलो उदाहरण पेस गरेका छन्।
विद्यार्थी राजनीतिको जग, समाजसेवाको पहिचान र व्यावसायिक दृढताका साथ अघि बढेका दाहालको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई चितवन कांग्रेसभित्र एक सशक्त र आशालाग्दो युवा नेतृत्वको उदयका रूपमा विश्लेषण गरिएको छ।

























