भरतपुर – सेप्टेम्बर २०२६ साइकल सिटी नेटवर्क नेपाल (CCNN) ले भरतपुर महानगरपालिकाका विद्यालयहरूमा ‘Pedal Power Lesson’ सुरु गरेको छ। ‘Pedal Paathshala: Community Learning on Wheels’ कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको यस पहलले विद्यार्थीहरूलाई साइकल, स्वास्थ्य, वातावरण, सडक सुरक्षा तथा दिगो यातायातका विषयमा व्यवहारिक र ज्ञानमूलक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ।
Pedal Power Lesson भरतपुर महानगरपालिकाका ९ वटा वडाका १० विद्यालयमा सञ्चालन भइरहेको छ। कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूलाई लक्षित गरिएको छ भने प्रशिक्षित महिला सहभागी तथा शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको छ।
यस पाठअन्तर्गत विद्यार्थीहरूले साइकलको प्रयोगबाट हुने स्वास्थ्य लाभ, वातावरण संरक्षणमा साइकलको भूमिका तथा सुरक्षित साइकलिङका आधारभूत विषयहरूबारे सिक्नेछन्। साथै, साइकल चलाउनुअघि र चलाइसकेपछि गर्नुपर्ने अभ्यास, समूहमा साइकल चलाउने तरिका, सडक सुरक्षा, साइकलको सामान्य मर्मत तथा हेरचाह र प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञान पनि प्रदान गरिनेछ।

कार्यक्रम सुरु गर्नुअघि शिक्षक तथा महिला प्रशिक्षकहरूका लागि Training of Trainers सञ्चालन गरिएको थियो। तालिम प्राप्त प्रशिक्षकहरूले अहिले आ–आफ्ना विद्यालयमा विद्यार्थीहरूलाई Pedal Power Lesson प्रदान गर्न सुरु गरेका छन्। कार्यक्रमअन्तर्गत सहभागी विद्यालयहरूमा Bicycle Club तथा Bicycle Library को समेत प्रवर्द्धन गरिएको छ।
यसले विद्यार्थीहरूलाई नियमित रूपमा साइकल प्रयोग गर्न, साइकलको हेरचाह गर्न तथा सुरक्षित र जिम्मेवार रूपमा साइकल चलाउने अभ्यास गर्न अवसर प्रदान गर्नेछ। साइकल सिटी नेटवर्क नेपालका अनुसार, Pedal Paathshala को मुख्य उद्देश्य साइकललाई केवल यातायातको साधनका रूपमा मात्र नभई स्वास्थ्य, शिक्षा, वातावरणीय सचेतना र सुरक्षित गतिशीलतासँग जोडिएको सिकाइको माध्यमका रूपमा विकास गर्नु हो। विद्यालयबाटै साइकलसम्बन्धी ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै यस पहलले विद्यार्थीहरूमा स्वस्थ, सुरक्षित र वातावरणमैत्री जीवनशैली तथा यातायात संस्कृतिको विकास गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Pedal Paathshala: Community Learning on Wheels Pedal Paathshala साइकलमार्फत विद्यालय तथा समुदायमा सिकाइलाई प्रवर्द्धन गर्ने पहल हो। यस कार्यक्रमले विद्यार्थी, शिक्षक तथा महिलाहरूलाई साइकलिङ, स्वास्थ्य, सडक सुरक्षा, वातावरणीय सचेतना र साइकल व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्दै विद्यालय तथा समुदायमा साइकलमैत्री वातावरण निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
साइकल सिटी नेटवर्क नेपाल (CCNN) साइकल प्रवर्द्धन, दिगो यातायात, सडक सुरक्षा, स्वस्थ जीवनशैली तथा साइकलमैत्री समुदाय निर्माणका क्षेत्रमा काम गर्दै आएको नेपाली संस्था हो।
























