भरतपुर – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारीसँगै वडा तहसम्मै नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन् ।कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले स्थानीय तहमा भेटघाट, छलफल र आन्तरिक तयारीले तीव्रता पाएको छ ।
यही क्रममा भरतपुर महानगरपालिका–१४ मा मनोज श्रेष्ठले वडा सभापतिका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठ लामो समयदेखि पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको व्यक्ति हुन् ।
विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा
मनोज श्रेष्ठको राजनीतिक यात्रा विद्यार्थी अवस्थाबाटै सुरु भएको हो ।अरुणोदय कलेजमा अध्ययन गर्दा देखि नै उनी राजनीतिक गतिविधिमा सक्रिय थिए ।त्यसपछि उनी नेपाल विद्यार्थी संघको संगठनमा जोडिँदै जिल्ला सहसचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता क्रमशः नेपाली कांग्रेसको मूल संगठनतर्फ विस्तार हुँदै गएको देखिन्छ ।पार्टीका विभिन्न गतिविधिमा निरन्तर संलग्न रहँदै आएका श्रेष्ठले स्थानीय तहमा युवापुस्तालाई संगठनसँग जोड्ने प्रयास गर्दै आए ।
नगर सचिवमा निकटतम प्रतिद्वन्द्वी
श्रेष्ठ यसअघि नेपाली कांग्रेसको अधिवेशनमा भरतपुर महानगर सचिव पदका लागि प्रतिस्पर्धा गरेका थिए ।उक्त निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।त्यसपछिका दिनमा पनि पार्टी संगठनसँगको उनको सक्रियता निरन्तर देखिन्छ ।अहिले १५औँ महाधिवेशनको तयारी अघि बढिरहेका बेला श्रेष्ठले आफ्नो राजनीतिक आधारलाई वडा तहमा केन्द्रित गर्दै भरतपुर–१४ को वडा सभापति पदमा दाबी अघि सारेका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि पनि चयन हुने व्यवस्था छ ।पार्टीको हाल सार्वजनिक कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ गतेका लागि तय गरिएको छ, स्थानीय अनुकूलताअनुसार असोज ३ वा ४ गते अधिवेशन सम्पन्न गर्न सकिने उल्लेख छ ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय
श्रेष्ठको परिचय राजनीतिक गतिविधिमा मात्रै सीमित नरहेको उनका निकटवर्तीहरू बताउँछन् ।रेडक्रस, विभिन्न क्लब तथा सामाजिक संघसंस्थामार्फत सामाजिक सेवामा समेत उनी सक्रिय रहँदै आएका छन् ।स्थानीय समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर सामाजिक काममा जोडिनुलाई उनले आफ्नो राजनीतिक यात्राको अर्को आधार बनाए ।यही कारण युवापुस्तासँगै अभिभावक पुस्तासँग पनि उनको सम्बन्ध स्थापित भएको छ ।
बदलिएको कांग्रेसको पक्षमा युवाको आवाज
पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ ।पार्टीको १५औँ महाधिवेशन पनि यही परिवेशमा हुँदैछ। कांग्रेसले वडा तहदेखि अधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ ।यही सन्दर्भमा श्रेष्ठले पनि कांग्रेसलाई वडा तहबाटै थप सक्रिय र जनतासँग जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएको उनका समर्थकहरू बताउँछन् ।विशेषगरी जेन्जी आन्दोलनपछि कांग्रेसको जनधारणा र संगठनात्मक सक्रियताबारे उठेका प्रश्नका बीच गगन थापाले अघि सारेको अभियानलाई वडा तहसम्म पु¥याउन तथा त्यसप्रति समर्थन र जनचेतना निर्माण गर्न श्रेष्ठ सक्रिय रहेको दाबी गरिएको छ ।
युवादेखि अभिभावकसम्म सम्बन्ध
भरतपुर–१४ मा वडा सभापतिका लागि श्रेष्ठको दाबीलाई उनका समर्थकहरूले युवापुस्ताको प्रतिनिधित्वसँग जोडेर हेरेका छन् ।युवाहरूमाझ उनको सक्रियता र सामाजिक क्षेत्रमा निरन्तरको संलग्नताले उनलाई संगठनभित्र नयाँ पुस्ताको अनुहारका रूपमा प्रस्तुत गर्न खोजिएको देखिन्छ ।त्यससँगै स्थानीय अभिभावक तथा पुराना कांग्रेस कार्यकर्तासँग समेत सम्बन्ध कायम राख्न सफल भएको दाबी गरिएको छ। यद्यपि वडा अधिवेशनमा अन्तिम परिणाम भने क्रियाशील सदस्यहरूको निर्णयबाट तय हुनेछ ।मनोज श्रेष्ठको उम्मेदवारीसँगै भरतपुर–१४ को कांग्रेस राजनीतिमा युवाको नेतृत्व र पुस्तान्तरणको बहस थप चासोको विषय बनेको छ ।वडा सभापतिका लागि उनको दाबी कति प्रभावकारी हुन्छ भन्ने कुरा आगामी अधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धा र क्रियाशील सदस्यहरूको निर्णयले निर्धारण गर्नेछ।
























