चितवन । बढ्दो शहरीकरणसँगै रेष्टुरेन्ट संस्कृतिको विकास भइरहेका बेला भरतपुर महानगरपालिका–१० दीपेन्द्रचोकमा ‘चित्वन स्पाईसी हर्ब (Chiton Spicy Herb)’ होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ।
जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले भरतपुरमा होटल व्यवसाय सुरु गर्नुभएको हो ।

रेष्टुरेन्टका सञ्चालक प्रकाश आचार्यले पत्रकार सम्मेलनमार्फत रेष्टुरेन्टको सेवा, सुविधा, विशेषता तथा आगामी योजनाबारे जानकारी दिएका हुन्।
सञ्चालक आचार्यका अनुसार चितवनमा जापानी खानाको स्वाद तथा अनुभवलाई नेपाली परिवेशमा प्रस्तुत गर्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। जापानमा करिब दुई दशक लामो रेष्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेका आचार्यले त्यहाँको अनुभव र सीपलाई प्रयोग गर्दै नयाँ स्वादका परिकार नेपाली ग्राहकलाई उपलब्ध गराउने बताए।
रेष्टुरेन्टमा १२ वटा डिलक्स कोठा रहेका छन्। ग्राहकको आवश्यकता र कार्यक्रमअनुसार प्रयोग गर्न सकिने गरी दुई वटा गोलाकार आकारका फरक ढाँचाका कोठासमेत निर्माण गरिएको सञ्चालकले जानकारी दिए। त्यस्तै, रेष्टुरेन्टमा करिब ६० जना क्षमताको एउटा हल र ३०/ ३० जना क्षमताका दुई वटा हल रहेका छन्। करिब १०० जना क्षमताको रेष्टुरेन्ट तथा दुई सय जना क्षमताको रूफटप रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ।
सञ्चालक आचार्यका अनुसार होटल परिसरमा २५ वटा कार र करिब १०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। चार कठ्ठा जमिनमा निर्माण भएको होटलमा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए।
जापानमा लामो समय रेष्टुरेन्ट व्यवसायमा काम गरेको अनुभवलाई आधार बनाएर यहाँ जापानी खाना तथा दक्षिण एसियाली परिकारलाई प्राथमिकता दिइएको छ। जापानी खानाका लोकप्रिय परिकारका साथै इन्डियन, चाइनिज लगायत विभिन्न परिकार उपलब्ध हुनेछन्। ग्राहकलाई अन्य रेष्टुरेन्टभन्दा फरक स्वाद र सेवा दिने गरी मेनु तयार गरिएको सञ्चालक आचार्यले बताए।
जापानको राजधानी टोकियोमा समेत रेष्टुरेन्ट सञ्चालन गर्दै आएका आचार्यले चितवनमा पनि विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालनको अनुभव रहेको जानकारी दिए।
चित्वन स्पाईसी हर्बलाई भने शान्त र पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको बताइएको छ। विशेषगरी परिवारसहित आएर खानपिन तथा मनोरञ्जन गर्न सक्ने वातावरण निर्माण गरिएको छ। होटलमा आउने ग्राहकलाई लक्षित गर्दै विभिन्न छुट तथा विशेष अफरको समेत व्यवस्था गरिएको सञ्चालकले बताए।
रेष्टुरेन्टमा बिहान ९ बजेदेखि राति १० बजेसम्म विभिन्न परिकारको सेवा उपलब्ध हुने जनाइएको छ। ग्राहकको सहजताका लागि होम डेलिभरी सेवासमेत सञ्चालनमा ल्याइएको छ। यसका साथै बैठक, गोष्ठी, सेमिनार, साधारणसभा, अधिवेशन, जन्मदिन, एनिभर्सरी, पारिवारिक जमघट तथा साथीभाइको भेटघाट लगायत कार्यक्रम आयोजना गर्न उपयुक्त हुने गरी रेष्टुरेन्टको संरचना तयार गरिएको छ।
सञ्चालक आचार्यले चितवनमा नयाँ स्वाद, गुणस्तरीय खाना, स्वच्छ वातावरण र राम्रो आतिथ्य प्रदान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए। “ग्राहकलाई फरक स्वाद र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने हाम्रो प्रयास हो,” उनले भने।
रेष्टुरेन्ट सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा पर्यटन र आतिथ्य व्यवसायमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। जापानी खानाको अनुभवलाई चितवनको बजारमा विस्तार गर्दै स्थानीय ग्राहक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने लक्ष्य सञ्चालकको छ।
पत्रकार सम्मेलनमा सञ्चालक आचार्यले व्यस्त समयका बाबजुद पत्रकारहरूलाई समय उपलब्ध गराएकोमा धन्यवाद दिँदै रेष्टुरेन्टको सेवा तथा गतिविधिबारे समाचारमार्फत जानकारी गराइदिन आग्रह गरे। चित्वन स्पाईसी हर्बले आगामी दिनमा ग्राहकको सुझाव र आवश्यकतालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने जनाएको छ।
























