काठमाडौँ – काठमाडौं महानगरपालिका – १५, डल्लु स्थित बुद्धज्योति एकेडेमीले नमूना संसद कार्यक्रम सम्पन्न गरेको छ। स्वयम्भू स्थित स्टार बैंक्वेटमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सांसद र सचिवालय सदस्यको रूपमा उत्कृष्ट भूमिका अभिनय गरेका थिए।
प्रतिनिधि सभाका सदस्य माननीय निस्कल राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल जीवनराज पन्थीले गरेका थिए। विद्यालयका उपप्रधानाध्यापक दिपक मरहट्टाले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका संयोजक अर्जुन अधिकारीले स्वागत मन्तव्य राखेका थिए।
नमूना संसद कार्यक्रममा प्रमुख पार्टीहरूको तर्फबाट नमुना विद्यार्थी नेताहरूले समसामयिक विषयमा विचार राख्ने, सांसदहरूले शून्य समयमा सरकारको ध्यानाकर्षण गराउने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर तथा विधेयक प्रस्तुत गरि त्यस उपर छलफल गरेर पारित गर्ने र नियमावली विपरितका विषयमा सांसदहरूले नियमापत्ति गर्ने सम्मको भूमिका अभिनय समेटिएको थियो।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्रा रेशु तामाङ्ले सभामुखको भूमिकामा सभा सञ्चालन गर्नुभएको थियो। उपसभामुखका रूपमा निक्शन दर्शनधारी रहनु भएको थियो। नमूना प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विभिन्न दलहरूका प्रमुख नेताका रूपमा सम्पन्न मरहट्टा, सुनमाया तामाङ, शिवानी कार्की, रेजिना चौलागाईं, लमीन स्याङ्दान र गुल्सन खातुनले समसामयिक विषयमा धारणा राख्दै विपद्को समयमा सबै राजनीतिक दलहरूले आपसी मतभेदलाई बिर्सेर उद्धार, राहत र पुनस्थापनाका लागि एकजुट हुनुपर्ने बताउनु भयो। नमूना प्रधानमन्त्री रुवन थापाले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनुभयो।
नमूना प्रतिनिधि सभाका छब्बीस जना सांसदले शून्य समयमा समसामयिक विषय तथा आफ्नो जिल्ला र क्षेत्रसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो। मन्त्रीका रूपमा नमूना मन्त्रीहरू ईशान पन्थी, तृष्णा मगर, प्रिनिता फुयाँल र कुसुम पन्थीले पेस गर्नुभएका विधेयकहरू माथी नमूना सांसदहरूले पक्ष र विपक्षमा तर्कसंगत रूपबाट आफ्ना धारणा राख्नु भएको थियो। ती विधेयकहरूलाई सर्वसम्मत रूपमा र बहुमतका आधारमा पारित गर्ने अभ्यास पनि गरियो।

नमूना संसद अभ्यास कार्यक्रममा विद्यार्थीको सहभागितालाई सक्रिय र अझ बढी प्रभावकारी बनाउने हेतुले प्रस्तुतिको मूल्यांकन गरि उत्कृष्ट चारजना विद्यार्थीलाई पुरस्कृत गरिएको कुरा विद्यालयका उपप्रधानाध्यापक दिपक मरहट्टाले बताउनु भयो। उक्त कार्यक्रमको निर्णायकका रूपमा उपप्राध्यापक विनोद मन्जन र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँल रहनुभएको थियो।
निर्णायक राजेन्द्र फुयाँलले कार्यक्रमको समीक्षा गर्दै विद्यार्थीहरूको प्रस्तुतिको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय निस्कल राईले सहभागी सम्पूर्ण विद्यार्थीलाई मेडल र उत्कृष्ट प्रस्तुति दिने एन्जिला फुयाँल, सुनमायाँ तामाङ, सम्पन्न मरहट्टा, रेजिना चौलागाईं र रेशु तामाङलाई ट्रफि प्रदान गर्दै प्रशंसनीय प्रदर्शनकालागि सबै विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले बालबालिकामा राष्ट्रिय भावना जागृत गर्न र विद्यार्थी केन्द्रित शिक्षण सिकाइका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्नु उपयुक्त हुने बताउनु भयो।
विद्यालयका प्रिन्सिपल जीवनराज पन्थीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा बताउनु भयो। विद्यालयका उपप्रधानाध्यापक दिपक मरहट्टाले कार्यक्रमको तयारीका क्रममा विद्यार्थीहरूले गरेको मिहिनेतको प्रशंसा गर्दै सक्रिय सहभागिताले सिकाइ प्रभावकारी हुने कुरा बताउनु भयो।
विद्यार्थीहरू सम्पन्न मरहट्टा, रेशु तामाङ, रेजिना चौलागाईं र कुसुम पन्थीले आफ्नो धारणा राख्दै यस कार्यक्रमबाट कार्यपालिका र व्यवस्थापिका, तिनको सम्बन्ध, सङ्घीय कानुन निर्माण प्रक्रिया आदि विषयमा बुझ्न सजिलो भएको बताउनु भयो र कार्यक्रम आयोजना गरिदिएकोमा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।





















