भरतपुर । महानगरीय ख्रिष्टिय समाज भरतपुरको १८ औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट पास्टर राजु परियार अध्यक्षमा चयन भएका छन् । भरतपुर महानगरपालिका–१२ स्थित नव जीवन ए.जी. चर्चमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
समाजका अध्यक्ष रेभ. किरण खातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए। वडा अध्यक्ष पन्तले संस्थाको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमको सुरुवात प्रार्थनाबाट गरिएको थियो। प्रारम्भिक प्रार्थना रेभ. हरिकुमार खातीले गरेका थिए। अधिवेशनमा भरतपुर महानगरपालिकाका वडा नं. १ देखि २९ सम्म रहेका विभिन्न चर्चका प्रतिनिधि, पास्टर तथा अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा करिब १२० वटा चर्चका प्रतिनिधिहरूको उपस्थिति थियो।
अधिवेशनले समाजको नेतृत्वका लागि नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा पास्टर राजु परियार चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा पास्टर नरेन्द्र क्षेत्री र पास्टर बिन्दु चौधरी चयन भएका छन्। सचिवमा ए. सुमन लंगेली , सहसचिवमा पास्टर कल्पना सेन्चुरी तथा कोषाध्यक्षमा पास्टर रणबहादुर रानामगर चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा पास्टर विशेष मल्ल, पास्टर सूर्य कुमाल, पास्टर विक्रम देउजा, पास्टर कुमार लामा र अ.शान्ति रुम्बा चयन भएका छन्।

अधिवेशनका क्रममा सहभागी पास्टर तथा अगुवाहरूले समाजलाई थप व्यवस्थित, प्रभावकारी र एकताबद्ध ढंगले अघि बढाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। भरतपुर महानगरपालिकाभित्र रहेका विभिन्न चर्च तथा ख्रिष्टियन समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक सेवाका क्षेत्रमा समाजले गर्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।
नवनिर्वाचित अध्यक्ष पास्टर राजु परियारले समाजको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै सबै चर्च, पास्टर, अगुवा तथा सदस्यहरूबीच सहकार्य र एकतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले समाजलाई साझा उद्देश्यका साथ अघि बढाउन सबैको सहयोग र सुझाव आवश्यक रहेको बताए।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै भरतपुर महानगरपालिकाभित्र रहेका ख्रिष्टियन समुदायको सामाजिक, धार्मिक तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउन नेतृत्वले सक्रिय भूमिका खेल्ने अपेक्षा गरेका छन्।
१८औँ साधारण सभा तथा ८औँ अधिवेशन नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको हो। नयाँ कार्यसमितिले आगामी दिनमा समाजका गतिविधिलाई थप व्यवस्थित गर्दै समुदायको हित, एकता र सामाजिक सेवाका क्षेत्रमा काम गर्ने जनाएको छ।





















