काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत गायन क्षेत्रमा पुनः फर्किएकी छन्।
गीतकार डीपी खनालको शब्द तथा चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीतमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीतमा संगीताको सुमधुर स्वर रहेको छ भने विषम आचार्यले संगीत संयोजन गरेका छन्।
‘रानीहार’ले तीज मनाउन महँगा सुनका गहना र भड्किलो खर्च आवश्यक नरहेको सन्देश दिएको छ। आफूसँग भएका साधारण सामग्रीमै खुसी र आनन्दका साथ तीज मनाउन सकिने सकारात्मक भाव गीतमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र स्वयं गायिका संगीता भण्डारीको अभिनय तथा नृत्य देख्न सकिन्छ। विशाल थापाले छायांकन गरेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन्। श्याम पटेलले सहायक नृत्य निर्देशन गरेका छन्।
भिडियोको निर्देशन तथा नृत्य निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियो डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक’ मार्फत सार्वजनिक गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा गायिका भण्डारीले २२ वर्षपछि पुनः गायनमा फर्किनुको कारणबारे पनि आफ्नो अनुभव सुनाइन्।
उनले काम गर्न कहिल्यै ढिला नहुने र उमेर प्रतिभा प्रस्तुत गर्ने बाधक नहुने बताइन्। इच्छा, आत्मविश्वास र निरन्तर प्रयास भए जुनसुकै उमेरमा पनि आफूभित्रको प्रतिभा प्रस्तुत गर्न सकिने सन्देश दिन आफू पुनः गायनमा फर्किएको उनको भनाइ थियो।
‘रानीहार’मार्फत भण्डारीले लामो समयपछि नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन्। तीजको मौलिक संस्कृति, सरल जीवनशैली र खुसीलाई केन्द्रमा राखिएको गीतले यस वर्षको तीज सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ।





















