चितवन / चितवनमा निशेधाज्ञा उल्लंघन गर्ने १ सय १३ जनालाई चितवन प्रहरीले कारवाही गरेको छ ।
आज सोमबार देखि माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा छ । भरतपुरमा भने गत शनिवार देखि नै निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा सडकमा निस्कने मानिसहरुको संख्या बढ्न थालेपछि चितवन प्रहरीले चेक जाँचमा कडाई गरेको छ ।
पहिलो र दोस्रो दिन केही मानिस मात्रै सडकमा देखिने गरे पनि आज तुलनात्मक रुपमा मानिसहरुको बढी सडकमा निस्कन थालेपछि चेक जाँचमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।
निषेधाज्ञा लागू भएको बेलामा विभिन्न बहानामा सडकमा निस्कनेलाई धमाधम नियन्त्रणमा लिन थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘हिजो अस्तिका तुलनामा आज मानिसहरु धैरै निस्कन थालेपछि चेकजाँच कडा पारेका छौं ।’
प्रहरीले भरतपुरको वीरेन्द्र क्याम्पस , चौविसकोठी र हाकिमचोक गेट अगाडि चेकजाँचमा कडाइ गरिरहेको छ । यस्तै चितवन प्रवेश गर्ने नाका लोथर र नारायणी पुलमा पनि चेकजाँचमा कडाइ गरिएको छ । आज सोमबार मात्रै १८ हजार राजश्व संकलन भएको छ ।
निषेधाज्ञाका बेलामा अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । सरकारी कार्यालय देखि बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गरिएका छन् ।





















