नेपाल आज उच्च आर्थिक मन्दी, महङ्गी, रोजगारीको अभाव, वैदेशिक पलायन, सुस्त लगानी, कमजोर औद्योगिकीकरण न्यून कृषि विकास र पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसक्ने जस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।
यदि बालेन सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन, पारदर्शिता र नवीन सोचलाई व्यवहारमा उतार्दै दीर्घकालीन आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र अघि सार्न सके, नेपाललाई समृद्ध राष्ट्र बनाउने आधारहरु पर्याप्त हुनसक्थ्यो।
सबैभन्दा पहिले स्वास्थ्य, शिक्षा, ऊर्जा र इन्धन जस्ता आधारभूत क्षेत्रलाई जनमुखी, गुणस्तरीय र सर्वसुलभ बनाइनुपर्छ। यी क्षेत्रलाई केवल राजस्व वा कर संकलनको स्रोतका रूपमा होइन, मानव विकास र उत्पादनशील जनशक्ति निर्माणको आधारका रूपमा हेर्न आवश्यक छ।
नागरिकले सहज र सरल तरिकाले सस्तो र गुणस्तरीय सेवा पाए मात्र समृद्ध राष्ट्र निर्माण सम्भव छ। साथै नेपालमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय स्तरको स्पष्ट, स्थिर र लगानीमैत्री नीति आवश्यक छ। विदेशी लगानीकर्तालाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गर्दै एकद्वार प्रणाली लागू गर्नुपर्दछ।
कानुनी स्थायित्व, लगानी सुरक्षा, नाफा फिर्ता लैजान पाउने सुनिश्चितता र पारदर्शी प्रशासनले विश्वका ठूला लगानीकर्ताको विश्वास जित्न मद्दत गर्नेछ।
नेपालका हिमाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरूमा हेलिप्याड, हर्स राइडिङ, केबल यातायात, टेलिस्कोपद्वारा हिमशृङ्खला अवलोकन, आधुनिक रिसोर्ट तथा सुविधा सम्पन्न लक्जरी भिल्लाहरू निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री तथा दीर्घकालीन लिजका लागि खुला गर्न सकिन्छ।
यस्ता परियोजनाका लागि विश्वप्रसिद्ध खेलाडी, कलाकार, उद्योगपति, प्रविधि उद्यमी तथा उच्च आय भएका व्यक्तिहरूलाई लक्षित गरी प्रि-बुकिङ कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसबाट नेपालमा ठूलो मात्रामा विदेशी मुद्रा भित्रिनुका साथै पर्यटन उद्योगले नयाँ उचाइ प्राप्त गर्न सक्दछ।
यसैगरी, ठूला विदेशी लगानीकर्तालाई निश्चित मापदण्ड पूरा गरेपछि दीर्घकालीन बसोबास अनुमति (पी. आर.) तथा कानुनले निर्धारण गरेका स्पष्ट मापदण्ड र राष्ट्रिय हितलाई ध्यानमा राखी विशेष योगदान गर्ने विदेशीलाई नागरिकता सम्बन्धी व्यवस्थामा आवश्यक नीतिगत सुधारबारे अध्ययन गर्न सकिन्छ।
यस्ता नीतिहरू लागू गर्दा राष्ट्रिय सुरक्षा, संविधान, जनसांख्यिक सन्तुलन र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राखिनुपर्छ। विदेशी लगानीलाई कृषि, पर्यटन, खानी तथा खनिज, जलविद्युत्, जडीबुटी प्रशोधन उद्योग, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (ए.आइ.) तथा आधुनिक उत्पादन उद्योगतर्फ आकर्षित गर्न विशेष आर्थिक क्षेत्र, कर छुट, अनुसन्धान सहयोग तथा पूर्वाधार विकासमा जोड दिनुपर्छ।
यसले लाखौँ रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आवश्यक छ। ड्रोन, कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिँचाइ, सेन्सर प्रणाली, ग्रीनहाउस, जलवायु नियन्त्रण प्रविधि तथा स्वचालित फलफूल खेती प्रणालीको विकास गरी नेपाललाई उच्च उत्पादनशील कृषि राष्ट्रका रूपमा स्थापित गर्न सकिन्छ।
उत्पादनसँगै प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ। नेपालमा रहेका प्राकृतिक सम्पदा, हिमाल, नदी, वन, जैविक विविधता तथा सांस्कृतिक सम्पदालाई विश्व बजारसँग जोड्ने दीर्घकालीन राष्ट्रिय योजना आवश्यक छ।
पर्यटनलाई केवल भ्रमणमा सीमित नराखी स्वास्थ्य पर्यटन, साहसिक पर्यटन, हिमाली आवास, अनुसन्धान पर्यटन तथा लगानी पर्यटनका रूपमा विस्तार गर्न सकिन्छ। रास्वपा तथा बालेन सरकारप्रति जनताले ठूलो आशा र विश्वास व्यक्त गरेका छन्।
त्यसैले सरकारको ध्यान केवल कर वृद्धि वा प्रशासनिक सुधारमा मात्र सीमित नरही आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, प्रविधि विकास र अन्तर्राष्ट्रिय लगानी आकर्षणतर्फ केन्द्रित हुन आवश्यक छ।
विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने नीतिहरू निर्माण गरेर नेपाललाई लगानी, नवप्रवर्तन र अवसरको केन्द्रका रूपमा स्थापित गर्ने समय आएको छ। यदि यस्ता दूरदर्शी, व्यवहारिक र राष्ट्रिय हितलाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सकियो भने नेपालले केही दशकभित्रै दक्षिण एसियाको आकर्षक लगानी गन्तव्य, आधुनिक पर्यटन केन्द्र तथा समृद्ध अर्थतन्त्र भएको राष्ट्रका रूपमा नयाँ परिचय बनाउन सक्ने सम्भावना प्रबल छ।
त्यसैले यसै लेख मार्फत बालेन सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जन अपेक्षाअनुसार जनमुखी, पारदर्शी र दीर्घदृष्टियुक्त आर्थिक नीतिहरू अवलम्बन गरी समृद्ध नेपालको आधार निर्माण गर्न अग्रसर होस् भन्ने हार्दिक सुझाव तथा ध्यानाकर्षण गराइन्छ।





















