काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ।
साउनलाई भगवान् शिवको महिना मानिने धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार महिलाहरूले हरियो चुरा, पोते र मेहन्दी लगाउने चलन बढेसँगै बजारमा किनमेल गर्नेको भीड लागेको हो।
राजधानीका असन, इन्द्रचोक, बागबजारलगायत प्रमुख बजारमा चुरापोते र मेहन्दी खरिद गर्ने ग्राहकको चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्। इन्द्रचोकमा चुरापोते व्यवसाय गर्दै आएका अहमद मुसलमानका अनुसार अन्य समयमा दैनिक आठदेखि १० हजार रुपैयाँसम्म हुने व्यापार पछिल्ला केही दिनयता २० देखि २५ हजार रुपैयाँसम्म पुगेको छ।
अर्का व्यवसायी हसन अन्सारीले पनि साउन सुरु हुनुअघि नै ग्राहकको भीड उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार विवाहको मौसममा जस्तै अहिले पनि हरियो चुरा र पोते खरिद गर्न आउनेको सङ्ख्या बढिरहेको छ।
राजधानीका बजारमा ग्राहकको रोजाइअनुसार स्वदेशी तथा आयातित हरियो चुरा, पोते र विभिन्न डिजाइनका सामग्री बिक्रीका लागि राखिएका छन्। ब्युटी पार्लरदेखि सडक किनारासम्म मेहन्दी लगाउने महिलाको भीडसमेत देखिन थालेको छ।
गोङ्गबुबाट इन्द्रचोक पुगेकी सरस्वती दवाडीले साउनमा हरियो चुरा र पोते लगाउनु धार्मिक आस्थासँगै सांस्कृतिक परम्पराको संरक्षण पनि भएको बताइन्। साउन महिनामा परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने र धार्मिक गतिविधिमा सहभागी हुने चलन पछिल्ला वर्षहरूमा अझ बढ्दै गएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार माता पार्वतीले भगवान् शिवलाई प्रसन्न पार्न हरियो चुरा, पहेँलो पोते र मेहन्दी प्रयोग गरेको किंवदन्तीका आधारमा विवाहित महिलाले साउनमा हरियो चुरा र पोते लगाउने परम्परा विकसित भएको हो।
उनले साउन वर्षायामसँग सम्बन्धित महिना भएकाले हरियाली, प्रकृति र संस्कृतिको प्रतीकका रूपमा पनि हरियो चुरा र पोते लगाउने चलन रहेको बताए। तीज नजिकिँदै जाँदा यसको महत्व र व्यापार अझ बढ्ने उनको भनाइ छ।





















