काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक युवकलाई उनका सालोले आगो लगाइदिएपछि युवक र उनलाई बचाउन गएकी महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक लभप्रित सिंह आफ्नी श्रीमती सन्दीप कौर लाई लिन ससुराली पुगेका थिए। त्यही क्रममा उनका सालो साजन सिंह ले उनीमाथि ज्वलनशील पदार्थ छर्केर आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लभप्रितलाई बचाउन दौडिएकी साजन सिंहकी भाउजू गुरजित कौर पनि आगोको चपेटामा परेकी थिइन्। गम्भीर घाइते दुवैलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा आगो लगाएको आरोप लागेका साजन सिंह पनि जलेका छन्। उनी हाल अस्पतालमा उपचाररत रहेका छन्।
प्रहरीका अनुसार घटनाको दृश्य घरनजिकै जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। फुटेजमा एक व्यक्तिले अर्कामाथि आगो लगाएको र पीडित आगो निभाउने प्रयास गर्दै भागिरहेको देखिन्छ। आगो फैलिँदा उनलाई बचाउन पुगेकी गुरजित कौर पनि आगोमा परेकी थिइन्।
प्रहरीले साजन सिंहविरुद्ध मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।





















