काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।
राष्ट्रिय किताबखाना (निजामती)राष्ट्रिय किताबखाना (निजामती)का अनुसार यस अवधिमा १४६ जना कर्मचारीले राजीनामा दिएका छन्, जुन सोही समयमा अनिवार्य अवकाशमा जाने कर्मचारीको सङ्ख्याभन्दा बढी हो। सोही अवधिमा १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन्।
किताबखानाका महानिर्देशक श्रवण पोखरेल का अनुसार राजीनामा दिने कर्मचारीमा सहसचिवदेखि सहायक स्तरसम्मका सबै तहका कर्मचारी रहेका छन्। विवरणअनुसार, ५ जना सहसचिव, ३३ जना उपसचिव, २९ जना शाखा अधिकृत, ७९ जना सहायक स्तरका कर्मचारीले रहेका छन् ।
उनका अनुसार व्यक्तिगत तथा अन्य विविध कारणले राजीनामा दिने क्रम बढिरहेको छ। राजीनामा दिने धेरै कर्मचारीले पेन्सनका लागि आवेदनसमेत दिइसकेका छन्।
राजीनामाको संख्या बढेसँगै ई–पेन्सन सेवामा आवेदनको चाप बढेको र यसले किताबखानाको प्राविधिक तथा प्रशासनिक व्यवस्थापनमा थप दबाब सिर्जना गरेको महानिर्देशक पोखरेलले जानकारी दिएका छन्।





















