फाईल फोटो
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार काठमाडौंको फर्पिङस्थित एक गुम्बाबाट शिक्षक पासाङ लामाको नेतृत्वमा ३२ जना बालबालिका अध्ययन भ्रमणका लागि चुम गुम्बातर्फ गएका थिए। शनिबार साँझ चुमनुब्री गाउँपालिका–७ को चौरीखर्क क्षेत्रमा पुगेका बेला केही बालबालिकाले पहिचान हुन नसकेको जङ्गली फल सेवन गरेका थिए।
फल खाएको केही समयमै उनीहरूमा वान्ता हुने, टाउको दुख्ने तथा असहज महसुस हुनेजस्ता लक्षण देखिएपछि तत्काल उद्धार गरी छेकम्पार स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार उपचाररतमध्ये दुई जनाको अवस्था गम्भीर रहे पनि सबै बालबालिकाको चिकित्सकीय निगरानीमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले उक्त जङ्गली फलको पहिचान गर्न तथा घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। साथै अपरिचित जङ्गली फल वा वनस्पति सेवन नगर्न स्थानीयवासी तथा पदयात्रीलाई सचेत रहन आग्रह गरिएको छ।
दुर्गम हिमाली क्षेत्रमा भएको यस घटनाले भ्रमण तथा पदयात्राका क्रममा अपरिचित वनस्पति सेवन नगर्न र खाद्य सुरक्षाप्रति विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।





















