चितवन – यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्ष्य गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।
महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
महाधिवेशनलाई लक्ष्य गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए।
उनका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ।
‘महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौँ’, प्रजिअ अर्यालले भने, ‘आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ।’
महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उनले बताए।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए।
उनका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ।
सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन।’
महाधिवेशन अवधिमा ठुलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ।
रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठुलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताए।
यस्तै रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुन लागेपछि चितवनको होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय चहलपहल देखिएको छ। महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू आउने क्रम बढेसँगै भरतपुरसहित आसपासका सबै प्रमुख होटलहरू पूर्ण रूपमा बुक भएका छन्।
महाधिवेशनमा करिब ३ हजारदेखि ३ हजार ५ सयसम्म प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिहरू सहभागी हुने अनुमान गरिएको छ। उनीहरूको आगमनसँगै भरतपुर, नारायणगढ, गैंडाकोट, सौराहा, टाँडी, पटिहानी, मेघौलीलगायतका क्षेत्रमा होटल कोठा अभावको अवस्था देखिएको व्यवसायीहरूले बताएका छन्। कतिपय होटलहरूमा कार्यक्रम सुरु हुनुभन्दा धेरै दिन अगाडिदेखि नै सम्पूर्ण कोठा बुक भइसकेका छन्।
होटल व्यवसायी संघ चितवनका अनुसार अफ सिजन भए पनि महाधिवेशनले गर्दा होटल व्यवसाय पूर्ण रूपमा चलायमान बनेको छ। व्यवसायीहरूले पाहुनाको सहजताका लागि छुट सुविधा, समन्वय तथा व्यवस्थापनमा विशेष ध्यान दिएका छन्। साथै, बन्दसत्र स्थलमा सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
महाधिवेशनले होटल व्यवसाय मात्र नभई रेष्टुरेन्ट, यातायात, ट्याक्सी सेवा तथा अन्य सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढाएको छ। स्थानीय व्यवसायीहरूले दैनिक कारोबारमा उल्लेखनीय वृद्धि भएको बताएका छन्।
देशभरबाट आएका प्रतिनिधिहरूले चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, देवघाटधाम, मौलाकाली मन्दिरलगायतका पर्यटकीय स्थलहरूको भ्रमण गर्ने योजना बनाएका छन्। यसले चितवनको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
व्यवसायीहरूले रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना हुनु जिल्लाको पर्यटन, आतिथ्यता र स्थानीय अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर बनेको बताएका छन्। साथै, यसले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ बढी चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।





















