काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्।
नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमाथि सभामुखले रुलिङ नगरेको भन्दै उनको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। उनले भनेका थिए, ‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?
त्यसलगत्तै रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाउँदै सभामुखको आलोचना नियमावलीविपरीत भएको बताएका थिए।
जवाफमा सभामुख अर्यालले यादवको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रतिनिधिसभा नियमावलीको नियम २१ स्मरण गराए।
सभामुखले भने, ‘आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम छ । जसको (ख)मा भनिएको छ, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।’





















